साउन २१, काठमाडौँ । देशभर अहिले मनसुनी वायुको साथै भारतको पूर्वी उत्तर प्रदेश र बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। यी दुबैको मिश्रित प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी प्रदेश र बागमती प्रदेशका धेरै स्थानहरू तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही सातै प्रदेशका केही थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने आज दिउँसो सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी आज राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी प्रदेश, बागमती प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशका केही र बाँकी प्रदेशको थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने माथिका सबै प्रदेशमा भारी वर्षा पनि हुनसक्ने छ।
मौसम पूर्वानुमान महाशाखाले गण्डकी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको जनाएको छ।
- न्युज बहार संवाददाता