असार ५, काठमाडौँ । देशको पूर्वी तथा मध्य भू-भागमा अहिले मनसुनी प्रणालीको प्रभाव र बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहिरहेको छ। जसको प्रभावले लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज दिउँसो गण्डकी प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाको अनुमान छ।
आज मंगलबार राति गण्डकी प्रदेश, मधेस प्रदेश र कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ भने बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा देशको बाँकी भू-भागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
- न्युज बहार संवाददाता