साउन १५,
काठमाडौँ । आज साउन महिनाको तेस्रो सोमबारको अवसरमा बिहानैदेखि पशुपतिनाथ
मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।
पशुपति क्षेत्र विकास कोष संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले साउनको सोमबार सधैँ भक्तजनको बिहानैदेखि भीड लाग्ने भएकाले आज बिहान ३ बजेदेखि चारै ढोका खुला गरिएको जानकारी दिएका छन ।
उनले आज तेस्रो सोमबारका दिन सुन्दरीजलबाट शुद्ध जलसहित बोल बम यात्रा गरी पशुपतिनाथ मन्दिरमा चढाउने भक्तजनको बढी भीड बढेको बताए ।
बोल बम काँवरिया सङ्घको आयोजनामा आज सुन्दरीजलबाट पशुपतिनाथसम्म बोल बम यात्रा गर्ने भक्तजनको भीड लागेको हो ।
साउनको सोमबारका दिन आज राजधानीको नागेश्वर, गोकर्णेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ ।
- न्युज बहार संवाददाता