मंसिर २५, काठमाडौँ । आज बालाचतुर्दशीका दिन
बिहान पितृका नाममा आज शतबीज छरिएको छ । अघिल्लो दिन अर्थात त्रयोदशीका दिन साँझ
दीपदान गरी रातभर भजनकीर्तन गरेर जाग्राम बसेकाहरुले बिहानको झिसमिसेमा शतबीज
छरेका हुन् ।
परम्परा अनुसार
प्रत्येक वर्ष मंसिर त्रयोदशीका दिन दीपदान गर्ने र चतुर्दशीका दिन शतबीज गरिन्छ ।
आज सोमबार बिहान काठमाडौँको पशुपतिनाथ मन्दिर वरपर शतबीज छर्नेहरुको भिड लागेको छ ।
पशुपति क्षेत्रको कैलाश, १०८
शिवलिंग, सूर्यघाट, आर्यघाट, गौरीघाट, मृगस्थली, गुहृयेश्वरी, विश्वरूप, किराँतेश्वर आदि ठाउँमा शतबीज
छर्ने गरिन्छ ।
मृगस्थलीमा
रहेका बहिरा गणेश नजिक आइपुगेपछि शतबीज छर्दै उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो
स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याइदिन अनुरोध गर्ने प्रचलन पनि
रहेको छ ।
वासुकी र
गुहृयेश्वरीको पूजा अनिवार्य रुपमा शतबीज छर्न पशुपति क्षेत्र पुग्ने भक्तजनले गर्नुपर्ने
शास्त्रीय वचन रहेको छ ।
शतबीजमा हाल धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो मिसाएर छर्ने चलन छ । तर, नेपाल पञ्चाङ्ग निर्णायक समितिका
पूर्वअध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमका अनुसार हेमाद्रि नामक
धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउने हो। शास्त्रीय रुपमा माता
पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने दीपदान एवं शतबीज छर्न नहुने गौतमले बताए ।
- न्युज बहार संवाददाता