जेठ १२, गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका–३ काँडेका महिलाहरुको अहिलेको दिनचर्या अरु समय भन्दा फरक बएको छ। उनिहरु अहिले वनपाखा चहारेर पाकेको ऐँसेलु टिप्छन्, मल्लाताको हरियो पातलाई सोली बनाएर त्यसैमा ऐँसेलु भर्छन् र राजमार्ग छेउ आएर ऐँसेलु ऐँसेलु भन्दै एगाडीको झ्यालतिर हात लम्काउँने गर्छन र यात्रुलाई ऐँसेलु किन्न विनयपूर्वक आग्रह गर्छन् । कसैले गाडी रोकेर ऐँसेलु किन्छन् पनि र कोही वास्तै नगरी हुइँकिन्छन् ।
अहिले मध्यपहाडी पुष्पलाल लोकमार्गमा महिलाहरु यसरीनै ऐँसेलु बेचिरहेका भेटिन्छन । झरीकोसमेत पर्वाह नगरी उनीहरु हातमा ऐँसेलु लिएर सडक किनारमा उभिइरहेका हुन्छन।
यही ऐँसेलु बेच्ने भिडमा रहेकी मनमाया विकले काँडाले कोतरेका हत्केला देखाउँदै ऐँसेलु टिप्नु दुःखजिलो काम भएको सुनाईन् । “बिहानमा ऐँसेलु टिप्छौँ, दिउँसो बाटोमा ल्याएर बेच्छौँ”, उनले भनिन्, “टाढाटाढा वनमा जानुपर्छ, गाह्रो भए पनि घरखर्च जुटाउन काम गर्नैपर्छ।”
महिला टपरी झैँ खिपेको हरियो पातमा ऐँसेलु भरि राखेर बेच्छन् । एउटाको मूल्य रु एक सय रुपैयाँ राखेका छन् । कुनै दिन एकै जनाले दुई हजारसम्मको ऐँसेलु बेच्ने गरेका छन । दैनिक ज्यालादारी कामकोभन्दा धेरै पैसा आउन थालेपछि महिला ऐँसेलुतिर आकर्षित भएका हन् ।
विकले भनिन्, “ऐँसेलु बेच्न सजिलो त छैन तर फुर्सदका दिनको सदुपयोग पनि भएको छ र घरगुजारा चलाउन अलिअलि पैसा पनि हुन्छ ।” सहरिय मानिसको रोजाइमा बढीजसो ऐँसेलु पर्छ र विदेशी पर्यटकले पनि किनेर खाने गरेका छन ।
लोकमार्गले छोएको कास्कीको फेँदी कटेपछि नागडाँडा, काँडे, लुम्ले, नयाँपुलसम्मै वसन्तयाममा ऐँसेलु बेच्नेहरु भेटिन्छन् । अहिले पहाडी भेगका अरु राजमार्ग छेउछाउ पनि ऐँसेलुको किनमेल हुन थालेको छ। बिदाका दिनमा त बालबालिका पनि ऐँसेलु बेच्न बाटोमा निस्कन्छन् ।
भिटामिन सीलगायत सुक्ष्म पोषकतत्व ऐँसेलुमा पाइन्छ । ऐँसेलुको जरामा पनि औषधीय गुण हुन्छ। यो पूर्णरुपमा जैविक र प्रकृतिक फल हो ।
‘गोल्डेन हिमालयन रासबेरी’ नामले चिनिने ऐँसेलु वाइनका लागि खपत हुन थालेपछि अहिले ऐँसेलु तेह्रथुमलगायत पहाडी जिल्लाका किसानका लागी पनि आयआर्जनको बाटो बनेको छ ।
- न्युज बहार संवाददाता