भदौ १८, बागलुङ । वर्षा र हावाहुरीले बागलुङका विभिन्न स्थानका मकै बालीमा क्षति पुर्याएको छ । हावाहुरीले जिल्लाको तमानखोलाका किसानले सयौँ रोपनी क्षेत्रफलमा लगाएको घोँगा लाग्ने बेलामा आएको मकै बाली नष्ट गरेको हो ।
तमानखोला गाउँपालिकाका कृषि शाखा प्रमुख सन्देश पराजुलीले वडा नम्बर १ र २ को पहिरा, सेन्नामा, बोङ्गानी, सोम्मरलगायतगाउँको करिब सात सय रोपनी क्षेत्रफलमा लगाएको मकै पूर्ण रूपमा नष्ट भएको जानकारी दिएका छन । मकै बालीमा शनिबार राति र आइतबार बिहान आएको हुरीले क्षति पुगेको उनको भनाइ छ ।
कामै नलाग्ने गरी सात सय रोपनीमा लगाएको मकै ढलेपछि किसानले ५० लाखभन्दा बढीको क्षति बेहोर्नुपरेको उनले बताएका छन ।
किसानले हावाहुरीले मकै नष्ट गरेको जानकारी गराएपछि बारीमै पुगेर गाउँपालिका अध्यक्ष जोकलाल बुढा मगर, उपाध्यक्ष हिराकुमारी छन्त्याल र प्राविधिकको टोली क्षतिको विवरण लिएको उनको भनाइ छ ।
उनले मकै ब्लकमा समेत हुरीले ठूलो क्षति पुर्याएको बताए । शाखा प्रमुख पराजुलील बताउँछन् दाना लाग्ने बेलामा मकै ढलेको हुँदा अब फल नदिने स्थितिमा पुगेको छ । मकैका सबै बोट वर्षा र हावाहुरीले भाँचिएपछि भोकमरी हुने भन्दै किसान चिन्तित बनेका छन् ।
- न्युज बहार संवाददाता