असोज १७, बागलुङ । दमेकका किसानले उत्पादन गरेको जङ्गली बाँकोलाई प्लास्टिकभित्र रहेको गुन्द्रुकसँगै हरियो सागको तीनपात देखिने ‘लेबलिङ पेपर’ले प्रस्ट चिनाउँने गरेको छ । यहाँका किसानले जङ्गलमा सङ्कलन गरेको बाँकोको गुन्द्रुक ‘लेबलिङ’ र ‘प्याकेजिङ’ गरेर बजारमा ल्याएका छन् । यो बाँकोको गुन्द्रुकले एक पटक स्वाद लिएका जो–कोहीलाई लोभ्याउने गरेको छ ।
यहाँका किसानले छुँदा मात्र पनि चिलाउने यस वनस्पतिलाई सहरका भान्सामा पुर्याउने अभियान नै थालेका छन। जङ्गलमा पाइने पिँडालु प्रजातिको बाँकोलाई स्थानिय समूहमा आबद्ध किसानले गुन्द्रुक बनाएर बजारीकरण गर्न थालेको तीन वर्ष भइसकेको छ । बाँकोले दुःख गर्नसक्ने किसानलाई आम्दानीसँग सहरलाई गाउँसँग जोड्न थालेको छ ।
जैमिनी नगरपालिकाले पहिलो वर्ष गाउँघरका लागि मात्रै गुन्द्रुक उत्पादन गरेको थियो भने गत वर्ष र यस वर्ष किसानले ‘लेबलिङ’ र ‘प्याकेजिङ’को तालिम लिएपछी आफैँको लगानीबाट लेबलिङ र प्याकेजिङ गरेर बाँको बजारमा ल्याएका छन् ।
कृषि प्राविधिक रवीन्द्र शर्माले भने ‘किसानको उत्पादन व्यवसायिक रुपमा बजारमा जाँदा त्यसको मूल्यलगायत धेरै कुरामा सहज हुन्छ, अघिल्लो वर्ष नगरले सहयोग गरेपछि अहिले किसानले आफ्नै लगानीमा बजार ल्याएका छन्, बाँकोबाट राम्रो आम्दानी हुन्छ ।’ यहाँ उत्पादित बाँको स्थानीय बजारका साथै काठमाडौँ, पोखरालगायत सहरमा पनि माग हुन थालेको छ।’
छन्त्याल कृषक समूहमा आबद्ध
दमेकका एक सय ४३ किसानको सामूहिक प्रयासमा बाँकोको बजारीकरण थालिएको समूहका
अध्यक्ष देवप्रकाश छन्त्यालले बताए । उनका अनुसार अन्य सागबाट भन्दा बाँकोको
सागबाट बनेको गुन्द्रुक स्वादिलो र पोषिलो हुने भएकाले किसानले जङ्गली बाँकोको
गुन्द्रुक बनाउँदै आएका हुन् ।
छन्त्याल कृषक समूहमा अध्यक्ष देवप्रकाश छन्त्यालले भने ‘नजिकको जङ्गल १५/१५ दिनका लागि वर्षमा दुई पटक मात्रै बाँको टिप्नका लागि खुल्छ, जसले धेरै टिप्नुहुन्छ उहाँले धेरै आम्दानी गर्नुहुन्छ, छन्त्याल कृषक समूहमा आबद्ध किसानले टिपेको बाँको समूहले नगदमा खरिद गरेर प्रशोधन, लेबलिङ र प्याकेजिङ गर्छन् र बजार पठाउँछन् ।’
जङ्गलभरि जेठ/असार महिनामा पाइने बाँको असोजसम्म घरभित्र ल्याइसक्नुपर्ने हुन्छ । बाँको असोजसम्म टिप्न नभ्याइएमा यत्तिकै हराएर जाने गर्दछ । बाँकोको काँचो पातले सावधानीपूर्वक नटिपे शरीर चिलाउने समस्या देखिन्छ । दमेकका किसानले परम्परागत शैलीबाट बाँकोका पात र काण्ड टिपेर त्यसलाई थिचेर एक महिनासम्म प्लास्टिकको ड्रममा राखेपछि मात्रै बाँकोको गुन्द्रुक तयार हुने गरेको छ ।
- न्युज बहार संवाददाता