असार ७, बागलुङ।
पश्चिम बागलुङका किसानले वैशाख अन्तिम साता लगातार वर्षा भएपछि धानको बीउ लगाए तर
जेठ लागेपछि वर्षा हुन रोकियो । त्यसपछि पश्चिम बागलुङमा अहिलेसम्म पनि पानी परेको
छैन ।
लगभय डेढ महिना जति लामो समय पानी नपर्दा ब्याडमा धाँजा फाट्न र धानको बीउ सुक्न थालेका छन् । लामो समयको खडेरीले ब्याडमा धानको बीउ सुकाएको छ भने बारीमा मकैका बोटसमेत सुकेर मर्न थालेका छन । आफुले लगाएको बालीको यस्तो हालत देख्दा कृषक चिन्तित बनेका छन् ।
यस क्षेत्रका कृषकले अघिल्ला वर्षहरुमा यति बेला खेतमा धान लगाउन सुरु गरिसकेका हुन्थे तर यस वर्ष वर्षा नहुँदा खोलानालासमेत सुकेका छन् । नजिकका खोलानालाहरु सुक्दा सिँचाइको चरम अभावमा रहेका किसानलाई धानको बीउ र कुटाउने बेलाका मकै जोगाउन मुस्किल परेको छ ।
जेठ अन्तिम सातदेखि रोपाइँ गर्न सुरु गरिसक्ने किसान यति बेला कहिले पानि पर्छ भनेर आकाश हेर्दै बस्न बाध्य रहेका छन । कतिपय किसानको ब्याडमा रोप्ने बेला भएको धानाका बिउ सुकेर मर्न थालेका हुन् । असार सुरु भइसक्दा पनि पानी नपर्दा धानको बीउ, मकै तथा अन्य तरकारीसमेत सुक्न थालेको कृषकको गुनासो छ ।
- न्युज बहार संवाददाता