भदौ ३१, बेनी
। म्याग्दी जिल्लाको रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीको परम्परागत मकै र
कोदोखेती हुने बारीमा नरप्रसाद छन्त्यालले व्यवसायीक सिमीखेती सुरु गरेका छन्। उनले
परम्परागत खाद्य बाली लगाउँदा निर्वाहमुखी खेती मात्र हुने भएपछि आलु र सिमीको नगदे
बालीको व्यावसायिक खेती गर्न थालेको बताएका छन । करिब १५ रोपनी बारीमा लगाएको आलु
भित्र्याइसकेपछि उनले अहिले सिमी लगाएका हुन् ।
यहाँ
बसोबास गर्ने २१ घरधुरीले नै परम्परागतरूपमा खाद्यबालीलाई छाडेर आलु र घ्यूसिमीको
व्यावसायिक खेती सुरु गरेका छन । स्थानीयवासीका अनुसार चिसो हावापानी भएकाले
खाद्यबाली पाक्नसमेत समय लाग्ने र नगद आम्दानी नहुने देखिएपछी आयआर्जनका लागि
व्यावसायिक आलु र सिमीखेती विस्तार गरेका हुन ।
कुइनेमङ्गलेलाई
रघुगङ्गा गाउँपालिका र जिल्ला कृषि ज्ञान केन्द्रले समेत आलु र सिमी पकेट क्षेत्र
घोषणा गरेका छन् । श्रीकृष्ण कृषि तथा पशुपालन कृषक समूहका सचिव बदेवी छन्त्यालले यस
गाउँको करिब एक हजार दुई सय रोपनीमा अहिले सिमीखेती गरिएको जानकारी दिएका छन । अहिले
आलुखेती गरेको सबै बारीमा सिमी लगाइएको उनी बतउँछन । उनले आलु नखन्दै त्यही बारिमा
सिमी लगाउने र आलु फलिसकेपछि आलु झिक्ने तथा सिमी गोड्ने काम एकैपटक गर्ने गरी आलु
र सिमीलाई व्यावसायिकरूपमा विस्तार गरिएको बताउँछन ।
- न्युज बहार संवाददाता