असार २१, सुर्खेत । सुर्खेत लगायत कार्णाली प्रदेशका १० जिल्लामा गरी २ लाख ७ हजार २७३ वटा चौपायामा लम्पी स्किन रोगको सङ्क्रमण देखिएको छ । सङ्क्रमित हुनेमा २ हजार ३९१ भैँसी, २८२ चौँरी, ४५ हजार १३० गाई र १ लाख १६ हजार ४१४ गोरु तथा ४२ हजार ५०६ बाच्छा बाच्छी रहेका छन् ।
कर्णाली प्रदेशमा विशेष गरी गोरुमा लम्पी स्किन रोगको प्रकोप बढी देखिएको छ। यसका कारण किसानलाई समस्या परेको छ । किसानहरू बर्खे खेती लगाउने समयमा गोरुमा लम्पी स्किनको सङ्क्रमण बढेपछि खेती लगाउन समस्या भएको गुनासो गर्ने गरेका छन । कृषक भन्छन्, ‘रोग लागेका गोरुले त हलो जोत्न पनि सक्दैनन्, निकै समस्या भयो ।’
लम्पी स्किन रोगका कारण कर्णाली प्रदेशमा ४ हजार २६४ वटा गोरुको मृत्यु भएको छ । यस्तै एक हजार ८७१ गाई, एक हजार २४७ बाच्छा÷बाच्छी, २४९ भैँसी र दुई वटा चौँरीको मृत्यु भएको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ।
- न्युज बहार संवाददाता