चैत १९, लुम्बिनी। केहि दिनदेखि भईहरको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्याएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका–१२ का कृषक चिन्नु यादवले शुक्रबार बाली भित्र्याउने समयमा चलेको हावाहुरी र शनिबारको बेमौसमी वर्षा र असिना पानिले बालीमा क्षति पुर्याएको बताएका छन।
‘हावाहुरीले खेतमा काटेर राखेको गहुँबाली उडाएर यत्रतत्र छरिएका छन् । असिनापानीले काट्न बाँकी रहेका गहुँका दाना जमिनमा झरेका छन् भने पानीले भिजाएका बाली कुहिने र ढुसी लाग्ने सम्भावनाले चिन्तित बनाएको छ ।’ चिन्नु यादवले भने।
कोटहीमाई–३ का सफिक अन्सारीले बुधबार र बिहीबार दुई दिन काटेर थ्रेसिङका लागि थुपारेको गहुँ वर्षाले भिजेको छ । ‘खेतबाट काटेर खलिहानमा ल्याई थुपारेको गहुँँलाई पानीले भिजाएपछि कुहिने डर छ’, उनले भने, ‘दिनदिनै पानी परेकाले त्यसलाई सुकाउन पाएका छैनौँ ।’
यस्तै कोटहीमाई गाउँपालिका रुपन्देहीका कृषि शाखा प्रमुख जितेन्द्र आर्यले अहिले कोटहीमाईका किसानले पाँच प्रतिशत गहुँमात्र भित्र्याएका बताए ।उनले भने, ‘हवारीहुरीले खेतमै ढलेको गहुँ ७५ प्रतिशत र काटेर एक ठाउँमा थुपारेको गहुँबालीमा २५ प्रतिशतसम्म क्षति हुने सम्भावना रहेको छ।’
बेमौसमी वर्षात्, हावाहुरी र असिनाले यस वर्ष अनुमानित चार प्रतिशतसम्म उत्पादन घट्न सक्ने सम्भावना रहेको र अहिलेसम्म रुपन्देहीमा करिब १० प्रतिशत गहुँमात्र किसानले भित्र्याउन सकेको कृषि ज्ञान केन्द्र रूपन्देहीका प्रवक्ता तथा कृषि प्रसार अधिकृत अनिल कानु बनियाँले बताएका छन।
रूपन्देही जिल्लामा मात्र यस वर्ष २६ हजार सात सय दुई हेक्टर जमिनमा गहुँखेती लगाइएको केन्द्रले जनाएको छ भने प्रवक्ता बनियाँले सिँचाइ र उन्नत बीउबिजनसमेतको प्रयोगले यस वर्ष उत्पादकत्व बढ्ने आकलन भइरहँदा वर्षाले केही हद सम्म उत्पादन घटाएको छ।
- न्युज बहार संवाददाता