पुस ११, रुकुमपश्चिम । छ करोड भन्दा बढीको अदुवा रुकुमपश्चिम जिल्लाको त्रिवेणी गाउँपालिकाबाट बिक्री भएको छ । त्रिवेणी गाउँपालिकाका अनुसार दुई हजार छ सय किसानले पालिकाभरी उत्पादन गरेको अदुवा बिक्रीबाट छ करोड २४ लाख आम्दानी भएको हो । यस वर्ष १५ लाख ६० हजार केजी अदुवा उत्पादन भएको जानकारी गाउँपालिकाका कृषि शाखा प्रमुख रमेश पुनले दिएका छन । पुनका अनुसार गाउँपालिका भित्र अदुवाखेती गर्ने दुई हजार छ सय घरधुरी रहेका र पाँच हजार दुईसय रोपनी क्षेत्रफलमा अदुवा उत्पादन हुने गरेको छ ।
उनले एक रोपनी जग्गामा तीन सय केजी अदुवा उत्पादन हुने गरेको जानकारी दिएका छन । गाउँबाट नै प्रत्येक किसानले एक क्विन्टललाई रु चार हजारका दरले बिक्री गरेका छन् । कृषि शाखाका अनुसार अदुवाका लागि व्यापारी गाउँमै पुगेर खरिद गर्ने गरेकाले बजारको समस्या नभएको हो ।
यस वर्ष अदुवा बिक्रीबाट रु एक लाख आम्दानी गरेको व्यावसायिकरूपमा अदुवाखेती गरेका त्रिवेणी–४ खुम्चेरीका नरे खड्काले बताए । उनी विगत २० वर्षदेखि अदुवाखेतीमा लागेका हुन र अहिले सम्म पनि निरन्तर अदुवा खेती गर्दै आएका छन् । उनका अनुसार यस वर्ष उत्पादन भएको साढे तीन क्विन्टल बीउका लागि राखिएको छ भने १२ क्विन्टल प्रतिक्विन्टल रु चार हजारदेखि आठ हजारका दरले बिक्री गरिएको हो ।
त्रिवेणी–४ खुम्चेरीका ५५ वर्षीय कृषक हरिबहादुर खड्काले पनि यस वर्ष अदुवा राम्रो उत्पादन भएको बताएका छन । उनले भने “पहिले एक क्विन्टल अदुवाबाट सात क्विन्टल उत्पादन गरिन्थो, उमेर पनि ढल्किँदै गयो अहिले त एक क्न्विन्टल अदुवाबाट तीनदेखि चार क्विन्टलसम्म उत्पादन गर्ने गरेको छु।” उनले यस वर्ष बीउका लागि १२ क्विन्टल अदुवा भण्डारण गरेर राखेका छन ।
- न्युज बहार संवाददाता