असार २३, बैतडी । बैतडी जिल्लामा असारको आधाआधि सकिदा मा रोपाइँ गर्ने कार्य अन्तिमतिर पुगेको छ । जिल्लामा असार पहिलो हप्तासम्म वर्षा नहुँदा रोपाइँ हुन सकेको थिएन तर वर्षा सुरु हुने बित्तिकै रोपाइँ धमाधम भएको छ ।
बैतडी जिल्लामा हालसम्म ९० प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख घनश्याम चौधरीले बताएका छन।
सिँचाइको सुविधा भएको ठाउँमा वर्षाअघि रोपाइँ सम्पन्न भइसकेको थियो भने आकाशे पानीले रोपाइँ हुने क्षेत्रमा वर्षापछि अहिले धमाधम रोपाइँ भइरहेको छ ।
चौधरीले भने, “यो महिनाको अन्तिमसम्म सबै रोपाइँ सकिन्छ, वर्षमा तीन खेती गर्ने बेँसीतिर केही स्थानमा रोपाइँ गर्न बाँकी रहेको छ भने केही अन्य स्थानमा पनि बाँकी रहेको छ।”
जिल्लाको पाटन नगरपालिकाको सलेना, पाटन फाँट, सिगास गाउँपालिकाका, डिलाशैनी गाउँपालिका विभिन्न क्षेत्र, दशरथचन्द नगरपालिकाको सेरालाई धानखेतीको पकेट क्षेत्र हुन् । बैतडीमा कुल नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती हुने गर्दछ ।
- न्युज बहार संवाददाता