फागुन ९,
काठमाडौं । यस वर्षको हिउँद महिना अझै सकिएको छैन । हिउँद यानकी जाडो महिना तर यसपाली
हिउँद नसकिँदै गर्मी सुरु भइसकेको महशुस भएको छ । पछिल्ला केही दिनयता नेपालका सबै
जसो स्थानहरुमा दिनमा तापक्रम निरन्तर वृद्धि हुँदै गएको छ । जल तथा मौसम विज्ञान
विभाग, मौसम
पूर्वानुमान महाशाखाले घाम धेरै चर्किएको जस्तो नलागे पनि तापक्रम भने निरन्तर गर्मी
महसुस गरिएको जनाएको छ ।
मौसम
पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले हिउँद याममा हुने वर्षा पर्याप्त
नहुँदा सुक्खापन बढेकाले यो वर्ष चाँडै गर्मी सुरु भएको बताएका छन । रोजन
लामिछानेले भने, “अहिले अधिकतम र न्यूनतम दुबै तापक्रम बढिरहेको छ । पश्चिमी वायु
सक्रिय नभएकाले वर्षा हुन सकेको छैन त्यसैले बर्षा नहुदा चिसो बढ्न नसकेकाले पनि
तापक्रम बढेर चाडै गर्मी सुरु भएको महसुस गरिएको हो ।”
नेपालमा अघिल्लो वर्ष हिउँदमा पश्चिमी वायु बढी सक्रिय रहेकाले हिउँदे वर्षा पर्याप्त भएको थियो । तर यस पटक वर्षा गराउने मौसमी प्रणाली आवश्यक मात्रामा प्रभावकारी नभएकाले वर्षा हुन नसकेको मौसमविद्हरुको भनाइ छ । मौसमविद् रोजन लामिछानेका अनुसार प्रि मनसुनको सिजन नजिकिदै गएकाले पनि तापक्रम बढिरहेको छ ।
नेपालमा सामान्यतया
हिउँदे वर्षा मङ्सिर दोस्रो साताबाट सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ । तर यस वर्ष हिउँदे वर्षा
पर्याप्त मात्रामा हुन सकेन । कतिपय ठाउँहरुमा त बर्षानै भएन
। अपेक्षा गरेअनुरुप वर्षा नभएकाले बाली लगाएका किसानसमेत मर्कामा परेका छन् ।
सुक्खापनले पर्यावरणमा समेत असर गरेको छ ।