जेठ १८, काठमाडौँ । केही दिन यता काठमाडौँ उपत्यका सहित देशभरि गर्मी बढेको महसुस भएको छ । गर्मी बढ्ने क्रमले अझ केही दिन निरन्तरता पाउने भएको छ। यस वर्षको मनसुन ढिलागरी सुरु हुने भएकाले अझै गर्मी बढ्ने सम्भावना देखिएको हो ।
जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले पश्चिमी पहाडी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव थोरै हुने भएकाले बादल लागेर राहत हुन सक्ने बताइन् ।
मानन्धरले भनिन्, ‘यस वर्ष समयमै मनसुन भित्रिने सम्भावना छैन। अहिलेसम्म भारतमा मनसुन सुरु भएको छैन र भारतमा मनसुन नआउँदा नेपालमा मनसुन आउने कुरै भएन, पानी पर्ने बादल नलाग्दासम्म स्वतः गर्मी बढिहाल्छ । त्यसो हुँदा हाल भइरहेको तापक्रम अझै बढ्दै जाने सम्भावना रहेको छ।'
गर्मीले सबै भन्दा बढी तराईको जनजिवन प्रभावित हुन थालेको छ। गर्मीले विद्यालयको पठनपाठन प्रभावित हुनुका साथै घर बाहिर काम गर्ने श्रमिकहरुलाई सकस पर्न थालेको छ भने अहिले तराईका नेपालगञ्ज, भैरहवा, जनकपुर, सिमरा, धनगढी, विराटनगर लगायत क्षेत्रमा अत्यधिक गर्मी बढेको छ ।
- न्युज बहार संवाददाता