भदौ २९, काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ भने नेपालमा हाल भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । यसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ।
आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश, कोशी प्रदेश, गण्डकी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी आज राति भने गण्डकी प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी गराएको छ।
- न्युज बहार संवाददाता