असार ९, स्याङ्जा । अहिले नेपालका विभिन्न स्थानमा रहेको लामो र अग्लो झोलुङ्गे पुल हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढ्न थालेको छ। स्याङ्जा जिल्लाको पनि गल्याङ नगरपालिका ८ र ७ जोड्ने चिउरीस्थित आँधीखोलामाथि तीन सय ६८ मिटर लामो, एक सय ९० मिटर अग्लो झोलुङ्गे हेर्न आउने विदेशी पर्यटकको सङ्ख्या बढेको छ।
भारतीय नागरिक पोखरा, कुस्मा र मुक्तिनाथ आउने जाने गर्न सिद्धार्थ राजमार्ग सबैभन्दा छोटो र सजिलो हुन्छ । सो राजमार्गको छेवैमा भएकाले चिउरीको झोलुङ्गे पुलको पनि भारतीय नागरिक र अन्य विदेशी पर्यटकले अवलोकन गरेर जाने गरेका छन ।
झोलुङ्गे पुल अवलोकनका लागि आउने पर्यटकको सङ्ख्या बढेपछि गल्याङ नगरपालिकाका प्रमुख गुरुप्रसाद भट्टराईले चिउरीमा हाल पार्किङ र पुलसम्म जान आउन रेलिङसहितको पदमार्ग निर्माण गरिएको बताएका छन ।
यस झोलुङ्गे पुल नुवाकोटस्थित एसए शैलेन्द्र जेभीले २०७८ असार मसान्तमा सम्पन्न गरेर सर्वसाधारणका लागि खुला गरेका थियो ।
- न्युज बहार संवाददाता