साउन २, काठमाडौँ । आज भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहितको उच्च अधिकारी टोलीले नागढुंगा–सिस्नेखोला सुरुङमार्गको स्थलगत अनुगमन गरेको छ ।
निर्माणको अन्तिम चरणमा रहेको सुरुङमार्गको आज भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँ, पूर्वमन्त्री डा गङ्गालाल तुलाधर, सांसद राजेन्द्रप्रसाद पाण्डे लगायत सडक विभाग र विश्व बैंकका उच्च अधिकारीहरु समेतको टोलीले स्थलगत निरीक्षण गरेका हुन् ।
भ्रमणका क्रममा मन्त्री ज्वालाले सुरुङमार्गमा भएको प्रगति र अवस्थाबारे जानकारी लिएका छन् ।
सुरुङमार्ग निर्माण कम्पनी स्वच्छन्द निर्माण सेवाका प्रमुख इन्जिनियर नारायण दुवाडीले सुरुङमार्गको मुख्य टनेल करिब चार सय मिटर र रेस्क्यु टनेल करिब ३५ मिटर खन्न बाँकी रहेको जानकारी दिएका छन ।
उनले अबको केही महिनामानै रेस्क्यु टनेल जोडिसक्ने र छिट्टै मुख्य टनेल जोड्ने तयारी रहेको र आउँदो एक वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको बताएका छन ।
- न्युज बहार संवाददाता