भदौ २९, काठमाडौँ । आज ५९ औँ राष्ट्रिय बाल दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । राष्ट्रिय बाल दिवस ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने मुल नाराका साथ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।
भदौ ४ विसं २०२१ देखि मनाउन सुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालपछीबाट भदौ २९ गते मनाउन थालिएको हो । रत्नराज्यलक्ष्मी देवी शाहले नेपालमा बाल दिवस आफ्नो जन्मदिन पारी २०२१ भदौ ४ गते देखि मनाउन सुरु गरेकी थिइन । रत्नराज्यलक्ष्मी देवी शाहले नेपाल बाल सङ्गठन (बाल मन्दिर) स्थापना गरी अनाथ, टुहुरा बालबालिका संरक्षणको थालनी गरेको दिनलाई राष्ट्रिय बाल दिवस घोषणा गरी नियमितरूपमा मनाउन थालेको पाइन्छ ।
त्यसैगरी संयुक्त राष्ट्रसङ्घ महासभाबाट सन् १९८९ नोभेम्बर २० मा बालअधिकारसम्बन्धी महासन्धि पारित भयो । पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अर्थात भदौ २९ गते अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालिएको हो ।
- न्युज बहार संवाददाता