वैशाख १, काठमाडौँ । आज २०८१ सालको पहिलो
दिन अर्थात नेपाली नयाँ वर्ष । हिजो राति १२ बजेदेखि २०८० साल सकिएर १२ बजेपछीबाट विक्रम
सम्वत् २०८१ सालको सुरुवात भएको छ । आज
नेपालमा र विदेशमा रहेका नेपालीहरुले नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन हर्षोल्लासका
साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाउने गरेका छन् ।
आज नयाँ
वर्ष आरम्भका अवसरमा नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण
संस्थामा सार्वजनिक बिदा दिइएको छ । आज नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र
पौडेल, प्रधानमन्त्री
पुष्पकमल दाहाल प्रचण्ड, सभामुख
देवराज घिमिरे, प्रधानन्याधीश
विश्वम्भर प्रसाद श्रेष्ठ, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, राजनीतिक दलका शीर्ष नेता लगायतले
शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना समेत गरेका छन् ।
आज नयाँ वर्ष आरम्भका अवसरमा नेपालीहरु बिहानै स्नान गर्ने, मन्दिर जाने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट
गर्ने, कतै नयाँ ठाउँ घुम्न जाने र एक आपसमा नयाँ वर्षको शुभकामना व्यक्त गर्ने गरिन्छ । जन आस्था र विश्वास अनुसार नयाँ वर्षको पहिलो दिन राम्रो
सुरुआत भए वर्षभर सफलता मिल्ने छ ।
- न्युज बहार संवाददाता