मंसिर २८, तनहुँ । अहिले पैसा कमाउन
बिदेशिने क्रम बढ्दै गएको छ तर तनहुँका एक युवक भने कोरियाबाट फर्केपछि पुनः
त्यहाँ जानुको साटो यहीँ कागती खेतीमा रमेको देख्न सकिन्छ । व्यास नगरपालिका-१३
आसपानीका राजु रेग्मी नौ वर्षसम्म कोरियामा रोजगारीका लागी बसेका थिए । उनी अहिले स्वदेश
फर्किएर व्यावसायिक कागती खेतीतर्फ लागेका हुन् ।
उनले कोरियामा
मासिक रु तीन लाखको नोकरी छाडेर नेपाल फर्की कृषि पेसा अगाँलेका हुन । उनले वैदेशिक
रोजगारीमा विदेशिने युवायुवतीहरुका लागि यहीँ नै लगनशिल भएर काम गरे प्रशस्त
आम्दानी गर्न सकिने उद्धारण प्रस्तुत समेत गरेका छन् ।
रेग्मीका
अनुसार उनी स्वदेशमा बसेर पनि केही उद्यम गर्न सकिन्छ भन्ने सोचले कोरियाको राम्रो
आम्दानी छाडेर घर फर्किएको हुन । उनि र उनकी पत्नी सिर्जना कोइरालाले व्यावसायिकरूपमा
कागती खेती सुरुवात गरेका छन । सिर्जनाका अनुसार कागती खेतीबाट बर्सेनी उत्पादन
वृद्धि हुँदै गएपछि थप हौसला मिलेको छ ।
सिर्जनाका
अनुसार उत्पादन गरिएका कागती बिक्रीका लागि बजारको लागि कुनै समस्या नरहेकाले
उत्साहित भएर उत्पादनतर्फ लागेका हौँ । अहिले उत्पादित कागती सबै चितवन, पोखरालगायत
बजारमा लगेर बिक्री गर्ने गरिएको छ ।
कागती प्रतिकिलो
रु एक सयदेखि रु एक सय पचाससम्म बिक्री हुने गरेको छ । कतिपय व्यवसायीहरुले
फार्ममै आएर कागती लिएर जाने गरेका छन् ।
रेग्मी
परिवारले विसं २०७८ मा रु चार लाख, २०७९ मा रु सात लाख र २०८० मा रु
पन्ध्र लाखको कागती बिक्री गरिसकेको छन । गत बैशाख र जेठ महिनामा हावाहुरीसहितको
असिनाले क्षति नबनाएको भए यसवर्ष करिब रु बीस लाख बराबरको कागती बिक्री गर्ने
उनिहरुको लक्ष्य थियो ।
उनिहरुले
अहिले करिब २६ रोपनी जमिनमा एक हजार सुन कागतीको बिरुवा लगाइएका छन भने अहिले
छ/सात सय बिरुवाले उत्पादन दिन थालेको छ । आउँदो वर्ष अझ अन्य बाँकी बिरुवाले पनि
उत्पादन दिन सुरु गर्नेछ । उत्पादन राम्रो हुने विश्वास गरिएको छ । अनुदानमा कृषि
ज्ञान केन्द्रले कागतीका बिरुवा उपलव्ध गराएको थियो ।
- न्युज बहार संवाददाता