भदौ १०, काठमाडौँ
। रसुवामा बुधबार आएको
भीषण बाढीका कारण नेपाल विद्युत प्राधिकरणअन्तर्गतका विभिन्न जलविद्युत केन्द्र, सबस्टेसन तथा प्रसारण संरचनामा क्षति
पुगेको छ। संरचनामा क्षति भएपछि रसुवा तथा आसपासका केही क्षेत्रमा विद्युत आपूर्ति
प्रभावित भएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका
अनुसार बाढीको प्रभाव रसुवागढी, चिलिमे र त्रिशूली–३ ‘ए’ जलविद्युत केन्द्रमा परेको छ। त्यस्तै, त्रिशूली–३
‘बी’
हबअन्तर्गतको
२२० केभी सबस्टेसनमा समेत क्षति भएको जनाइएको छ। त्रिशूली र देवीघाट जलविद्युत
केन्द्रसहित विभिन्न वितरण प्रणालीका संरचनामा पनि बाढीले असर पुर्याएको छ।
विद्युत
उत्पादनदेखि प्रसारण र वितरणसम्मका संरचनामा क्षति पुगेपछि केही स्थानमा विद्युत
सेवा अवरुद्ध भएको प्राधिकरणले जनाएको छ। आपूर्ति यथाशीघ्र सामान्य अवस्थामा
ल्याउन प्राविधिक टोली तथा सम्बन्धित निकायले आवश्यक काम अघि बढाइरहेका छन्।
प्राधिकरणले
विद्युत सेवा पूर्ण रूपमा नियमित हुन केही समय लाग्न सक्ने भन्दै उपभोक्तालाई
धैर्य गर्न आग्रह गरेको छ।
बाढीका
कारण विद्युत पूर्वाधारबाहेक घर, सडक, पुललगायत अन्य भौतिक संरचनामा पनि
उल्लेख्य क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीबाट भएको वास्तविक
क्षतिको विवरण भने सम्बन्धित निकायले संकलन गरिरहेको जनाएको छ।
- न्युज बहार संवाददाता