भदौ ८, चितवन । चितवन जिल्लाको पूर्वी क्षेत्रमा लगाइएको केरा खेतीमा ओइलाउने रोगको समस्या देखिन थालेको छ । विगत एक महिनादेखि देखिन थालेको यो रोग ‘व्याक्टेरिया’का कारण हुने रोग हो ।
कालिका, रत्ननगर र खैरहनी नगरपालिकामा रहेका केरा बगैँचामा यो समस्या देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइले उल्लेख गरेको छ ।
विभिन्न व्याक्टेरियाका कारण ओइलाउने रोग लाग्ने गरेको कार्यालयका सूचना अधिकारी इन्द्र शर्मा ढुङ्गानाले जनाएका छन । उनले भने, “अहिलेसम्म कार्यालयमा जिल्लाका चारवटा बगैँचामा यस्तो समस्या आएको सूचना प्राप्त भएको छ, अहिले नयाँ बिरुवा रोपिएको बगैँचामा यो रोग देखिएको उनले बताए ।
यता जिल्लामा एक चरणमा ल्याइएको केराका बिरुवामा यो समस्या देखिएको हो केरा जोन सञ्चालक समन्वय समितिका संयोजक विष्णुहरि पाण्डेले बताउँछन । उनले भने “एक चरणमा १० हजार बिरुवा झारिएको थियो, ती बिरुवा लगाएका सबै बगैँचामा यो समस्या देखिएको छ, अन्य क्षेत्रमा पनि देखिएको हुनसक्छ भनेर हामीले अनुगमन गरिरहेका छौँ ।”
यस क्षेत्रमा जी नाइन र मालवोग जातका केरा लगाउने गरिएको छ । यहाँका केरा चितवनसहित पोखरा, काठमाडौँ, बुटवललगायतका सहरमा बिक्री हुने गरेका छन् ।
- न्युज बहार संवाददाता