माघ ६,
झापा । झापा जिल्लाको हल्दीबारी गाउँपालिकामा दुई हजार पाँच सय बिघामा तोरी खेती
गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र)का
अनुसार किसानले गाउँपालिकाका छवटै वडाका विभिन्न स्थानमा उक्त क्षेत्रफलमा तोरी
खेती गरेका हुन । यसका लागी गाउँपालिकाले
७५ प्रतिशत अनुदानमा तीन हजार किलोग्राम तोरीको बीउ वितरण गरेको थियो ।
गाउँपालिकाको
प्रारम्भिक अनुमान अनुसार प्रतिहेक्टर एक दशमलव नौ मेट्रिक टन तोरी उत्पादन हुने छ
भने हल्दीबारीमा तोरी खेतीका लागि माटोसमेत उपयुक्त रहेको छ ।
यहाँका खेतमा अहिले तोरी फुलेर पहेँलपुर भएका छन् । तोरी खेतीबाट राम्रो आम्दानी लिन सकिने विश्वास हल्दीबारी–२ का कृषक डम्बरप्रसाद चम्लागाईंले व्यक्त गरेका छन । उनका अनुसार अरु बालीमा जस्तो झन्झट नहुने र मूल्य पनि राम्रो पाइने गरेको छ । उनले गत वर्ष प्रतिमन रु छ हजारमा तोरी बिक्री भएको बताएका छन । झापाभरिमा यो वर्ष सबैभन्दा बढी हल्दीबारीमा तोरी खेती गरिएको छ ।
- न्युज बहार संवाददाता