भदौ २०, धादिङ । धादिङ जिल्लाको रामशरण लम्सालको बारी नीलकण्ठ नगरपालिका वडा नम्बर १२ साङ्कोषमा अहिले लटरम्मै कागती फलेको छ । कोरोना पहिले सदरमुकाम धादिङबेँसीमा ग्रिल व्यवसाय गर्दै आएका उनले ग्रिल व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती सुरु गरेका हुन् ।
“यो कागती मलाई लकडाउनले दिएको उपहार हो” लम्साल भने। उनको अहिले साँझ–बिहान कागती खेतीमै बित्ने गरेको छ । कृषक लम्सालले कोरानाको फुर्सदको समय सदुपयोग गर्दै बाँझो बारीमा कागती लगाएको थिए सोही कागतीले उत्पादन दिन थालेपछि अहिले उनि दङ्ग छन ।
उनको तीन रोपनी रहेको बारीमा सुन जातका कागतीको तीन सय बोट रहेका छन । उनी भन्छन्, “एउटै बोटमा २० किलोसम्म कागती फलेको छ, लकडाउनले दिएको उपहार कागती अहिले अतिरिक्त आम्दानीको स्रोत बनेको छ।”
कागतीको बाह्रैमास फल्ने खालका छन कतै चिचिला लाग्दैछ कतै पाक्दैछ । उनले दैनिक ४० किलो कागती बिक्री भइरहेको बताए। कागती लिनका लागी धादिङबेँसीका कतिपय तरकारी व्यापारी बारीमै पुग्ने गरेका छन । बारीमा पुग्न नसक्नेलाई माग गरे अनुसार कागती टिपेर पुर्याइदिने गरिरहेको लम्सालले बताउँछन ।
- न्युज बहार संवाददाता