साउन १४, बागलुङ । बागलुङ जिल्लाका अधिकांश ग्रामीण क्षेत्रहरु जङ्गलसँग जोडिएका छन् । स्थानीयहरुलाई जङ्गल नजिक बस्ती हुँदा बाँदरले हैरान बनाएको छ । बाँदरले हिउँदमा घरको आँटीमै पुगेर अन्न खाइदिन्छ भने बर्खामा बारीमा लगाएका भटमास, मकै लगायतका बाली नष्ट पारिदिन्छ ।
अहिले गाउँमा सबै किसानमा बारीमा भर्खर मकैले घोगा निकाल्न सुरु गरेको छ । सबै जसो बारीको छेउछाउमा स–साना त्रिपालका छाप्रा देख्न सकिन्छ । उक्त छाप्रोमा दैनिक एक–दुई जना कृषक बाँदर धपाउन बसेका हुन्छन ।
यसरी बनाएको त्रिपालका छाप्रामा उनीहरु मकै, भटमास र कोदो बाली नभित्र्याउँदासम्म बस्ने गरेका छन । एकैछिन कही गए आउने बेला बारीमा मकै नरहने पिरले किसान दिनभरि बारी छेउमै बस्न बाध्य बनेका छन ।
यो समय किसानका लागि कामको चटारो हुने समय हो तर पनि सबै काम छोडेर उनिहरु बाँदर धपाउनका लागि कुरुवा बस्नुपर्ने बाध्यतामा रहेका छन् ।
बागलुङ जिल्लाको धेरै स्थानमा रातो साधारण खालको बाँदर पाइन्छन् भने केही स्थानमा सेतो प्रजातिका बाँदरले पनि आतङ्क मच्चाउने गरेको कृषकले गुनासो गर्दै आएका छन् । हरेक वर्ष बाँदरले लाखौँको खाद्यबाली नष्ट गरिदिने गरेको कृषकहरु बताउँछन । यती हुँदाहुँदै पनि स्थानीय पालिकाले बाँदर नियन्त्रणका लागि कुनै नीति नल्याउँदा किसानहरु निराश बनेका छन ।
ढोरपाटन नगरपालिकाका किसान कृष्णबहादुर विकले भने ‘सयौँको सङ्ख्यामा रहेको बाँदरले बारीमा रहेको मकै एकैछिनमा नष्ट बनाउँछ, एक जना कुरुवा अनिर्वाय नबसी अरु उपाय छैन।’
उनी असार अन्तिम सातादेखिनै बारी छेउमा छाप्रो बनाएर बस्न थालेका हुन अब असोजमा मकै भित्र्याएपछि मात्रै कुरुवा बस्न नपर्ने उनी बताउँछन । उनी बिहान सबेरै उठेदेखि रात झमक्क नपर्दासम्म बारीमै बसेर बाँदर केरिरहेका हुन्छन ।
- न्युज बहार संवाददाता