जेठ ४, तनहुँ । तनहुँ जिल्लाको म्याग्दे गाउँपालिकाले माछापालक कृषकलाई शतप्रतिशत अनुदानमा माछाका भुरा वितरण गरेको छ ।
गाउँपालिकाले व्यावसायिकरूपमा माछापालन गरिरहेका कृषकहरुलाई माछाका भुरा वितरण गरेको हो।
गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले सातवटै वडाका कृषकलाई ६० हजार माछाका भुरा वितरण गरिएको जानकारी दिएका छन । उनले व्यवसायीक माछापालन गरिरहेका कृषकहरुलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा माछाका भुरा वितरण गरेको बताए ।
उनले भने, “विगत लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध कृषकसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियौं, निवेदन प्राप्त भएका २२ कृषकलाई भुरा वितरण गरिएको हो ।” कृषकलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्पको माछाका भुरा वितरण गरिएको छ ।
गाउँपालिकाले उक्त माछाका भुरा नेपाल सरकार कृषि अनुसन्धान केन्द्र मातहतको मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट प्रतिभुरा ५० पैसामा खरिद गरेको हो ।
माछापालक कृषकलाई प्रोत्साहन गर्न अनुदानमा भुरा वितरणको कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताएका छन ।
- न्युज बहार संवाददाता