साउन १०, कञ्चनपुर । कञ्चनपुर जिल्लाको कृष्णपुर र शुक्लाफाँटा नगरपालिकामा गरिएको धानबालीमा गबारो किराले क्षति पुर्याएको छ । दुई पालिका क्षेत्रमा यापाली पर्याप्त वर्षा नहुँदा गबारो किराको प्रकोप बढ्न थालेको हो।
पालिकाका सबै वडाका खेतमा गबारो किराको प्रकोप देखिएको कृष्णपुर नगरपालिकाका कृषि अधिकृत लालबहादुर धामीले जानकारी दिएका छन । उनले भने, “भर्खरै रोपेको धानबालीमा गबारो कीराले क्षति पुर्याएपछि निःशुल्क विषादी वितरण गरिरहेका छौँ”, झण्डै एक सय किसानलाई विषादी वितरण गरेका छौँ, पालिकाको बजेट अभावले सबैलाई विषादी उपलब्ध गराउन सकिएको छैन।”
यसैगरी जिल्लाकै शुक्लाफाँटा नगरपालिकाको सुक्खा क्षेत्रहरुमा पनि गबारो कीराको प्रकोप देखिएको छ । पालिकाको सुक्खा क्षेत्रमा खेतमा गबारो किराको प्रकोप देखिएको शुक्लाफाँटा नगरपालिकाका कृषि प्राविधिक करनसिंह बुढाऐरले बताएका छन । उनले भने, “किसानहरु गबारो कीरा देखियो भनेर आउने क्रम बढेको छ, सुक्खा क्षेत्रको धानबालीमा गबारो कीरा र धमिराको सङ्क्रमण बढ्दो देखिएको छ ।”
किसानहरु धान रोपेको महिना दिनमै गबारोको प्रकोप देखिएपछि चिन्तित बनेका छन् । कञ्चनपुरका दुई पालिकामा मात्रै गबारो सङ्क्रमण देखिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका सूचना अधिकारी जनक सिंहले जानकारी दिए।
सूचना अधिकारी सिंह कञ्चनपुरमा मात्र ४८ हजार चार सय ९६ हेक्टरमा धानखेती हुने गरेको बताउँछन । कञ्चनपुरमा आव २०७९-८० मा एक लाख ९० हजार मेट्रिक टन धान उत्पादन भएको थियो।
- न्युज बहार संवाददाता