असोज ५, मुस्ताङ । मुस्ताङ जिल्लाको लोमान्थाङ गाउँपालिका–३ थिङगरका कृषकहरुले बाँझो जमिनमा सामूहिकरूपमा व्यावसायिक आलुखेती लगाएका छन् । ठेकार कृषक समूहले लोमान्थाङ गाउँपालिकाको आर्थिक सहयोगमा एक सय ३० रोपनी जग्गामा सामूहिक आलुखेती गरेर आम्दानी लिन सुरु समेत गरिसकेका छन । धेरै वर्षअघिदेखि यसै खाली बाँझो रहेको जमिनलाई खनजोत गरेर सामूहिकरूपमा व्यावसायिक आलुखेती गरेको समूहका अध्यक्ष कर्म साम्टुक गुरुङले जानकारी दिएका छन।
गुरुङले भने, “बाँझो जग्गा खनजोत गरेर तेह्र जनाको समूहमा स्थानीय जातको आलुखेती गरेका छौँ, यही आलुखेतीलाई निरन्तरता दिने योजनामा छौँ।” कृषकलाई गत जेठको पहिलो हप्ता लगाएको आलु अहिले खनेर भित्र्याउने चटारो लागेको छ ।
कृषक समूहले बीस रोपनी जमिनबाट रु पाँच लाख ६२ हजार पाँच सय मूल्य बराबरको ११ हजार दुई सय ५० किलोग्राम आलु निकालिसकेको जानकारी गराएको छ । याहाँ उत्पादन बएको आलु जोमसोम, लोमान्थाङ, मुक्तिनाथ, कागबेनी, बागलुङ, पोखरा, बेनी र काठमाडौँको बजार सम्म पुगेको छ । उत्पादित आलु बारीबाटै प्रतिकिलो रु ५० का दरले आलु बिक्री भइरहेको छ ।
गत आवमा याहाँका कृषकको समुहलाई कृषि ज्ञान केन्द्रले सिँचाइका लागि नहर बनाउन रु दुई लाख सहयोग गरेको थियो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले आयात घटाएर आलुमा आत्मनिर्भर बन्ने, बाँझो जमिनको सदुपयोग गर्ने, कृषकको आयआर्जन वृद्धि र रोजगारी सिर्जना गर्नका लागि सामूहिक आलुखेतीसम्बन्धी कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।
- न्युज बहार संवाददाता