बैशाख ४, काठमाडौँ । देशमा अहिले उच्च चापीय प्रणालीको प्रभाव रहेको छ र उक्त प्रणालीको प्रभावले अझै केही दिन वायुमण्डल स्थिर रहने जानकारी मौसम पूर्वानुमान महाशाखाले गराएको छ।
यस्तै नेपालमा लामो समय देखि वर्षाका गतिविधिमा पनि कमी आएको र डढेलोका घटनाहरू पनि बढेकोले यसको परिणाम स्वरूप उपत्यका लगायत देशका धेरै भू-भागहरूमा तुवाँलो लागेको र सो क्रम अझै आगामी तीन दिनसम्म पनि जारी रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज सोमबार देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक-दुई स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको छ।
लुम्बिनी प्रदेशका र तराईका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको पुर्वानुमान रहेको छ।
- न्युज बहार संवाददाता