साउन ७, काठमाडौँ । ऐतिहासिक, धार्मिक, तथा पुरातात्विक महत्त्व बोकेको टोखाको वौडेश्वर मन्दिर परिसरमा मेला लागेको छ । टोखा नगरपालिका वडा नं १ झोरस्थित बौडेश्वर मन्दिर तथा झरनामा टोखा नगरपालिका र वौडेश्वर संरक्षण समितिको आयोजनामा शनिबार मेला लागेको हो ।
वडा नं १ का वडाध्यक्ष रमेश लामिछानेले शनिबार बिहानैदेखि लागेको वौडेश्वर मेलामा हजारौँ भक्तजनले मेला अवलोकन गरेको जानकारी दिएका छन ।
पछिल्लो समय आन्तरिक पर्यटकको गन्तव्यका रूपमा टोखा नगरपालिका–१ वौडेश्वर झरना तथा मन्दिर विकास हुँदै गएको छ ।
यसैलाई मध्य नजर गर्दै टोखा नगरपालिकाले वौडेश्वर मन्दिर क्षेत्रको विकासका लागि गुरुयोजना बनाएर काम गरिरहेको छ । वौडेश्वर संरक्षण समितिले वौडेश्वर मन्दिर तथा झरनामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनका लागि मन्दिरसम्म जाने सिँढी निर्माण गर्ने कार्य गरिरहेको छ भने भक्तजनलाई सहज दर्शनको लागी आवश्यक व्यवस्थापन र वातावरण बनाउने लगायतको काम भइरहेको छ ।
- न्युज बहार संवाददाता