फागुन
१५, धनकुटा । सदियौँदेखि धनकुटाको बिच भागबाट तमोर नदी निरन्तर बगिरहेको छ । पहाडैपहाडको
शङ्खला छिचोल्दै काँक्राको चिराजस्तै बगेको तमोर नदी हेर्दै मनमोहक र आकर्षक
देखिन्छ । यसको दृश्यले मनलाई आनन्दित बनाउँछ । यहाँका अर्को आकर्षण भनेको धनकुटा जिल्लाका
चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र
लोभलाग्दा फाँट हुन । तर जिल्लाका स्थानीय तहले पर्याप्त पर्यटनको सम्भावना बोकेको
नदी क्षेत्रलाई बेलाबखत स्वतः हुने जलयात्रा (र्याफ्टिङ), फिसिङ, क्याम्पफायर, वनभोजबाहेक तमोर नदी क्षेत्रलाई
पर्यटकीय गन्तव्यका रूपमा अहिले सम्म पनि प्रयोग गर्न सकेका छैनन् ।
तमोर नदी
जिल्लाको छथर सहिदभूमि, जोरपाटी, चौबिसे गाउँपालिका, साँगुरीगढीसहित
धनकुटा नगरपालिका भएर बगेको छ । भेडेटार र तमोर नदी नजिक रहेको नमस्ते झरनामा
दैनिक एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म पर्यटक आउने गरेका होटल एशोसिएसन
भेडेटारको तथ्याङ्कले जनाएको छ ।
पूर्वकै
पर्यटकीय नगरी भेडेटार र नमस्ते झरनाको नजिकै कोशी राजमार्गस्थित धरान–धनकुटा सडकको पहुँचमा रहेको
तमोर नदी क्षेत्रमा भने पर्यटकको आगमन
ज्यादै न्यून रहेको छ । धनकुटा नगरपालिका वडा नं १० मूलघाटका होटल व्यवसायी मोहन
बान्तावाका अनुसार स्थानीय सरकारले यसको उपयोग गर्ने नीति तथा कार्यक्रम नल्याउँदा
अथाह पर्यटनको सम्भावना बोकेको तमोर क्षेत्र पर्यटकविहीन बन्न पुगेको छ ।
होटल
व्यवसायी उनले पर्यटकको आवागमनमा वृद्धि नहुँदा व्यवसाय छाड्ने अवस्थामा पुगेको बताएका
छन । साँगुरीका अध्यक्ष जितेन्द्र रुम्दाली राईका अनुसार पर्याप्त लगानीको अभाव
हुँदा नदीजन्य पर्यटन र यसमा आधारित पर्यटन गतिविधिको सम्भावना त्यसै टरेर गएको हो
।
भारतको जोगवनीबाट चीनको ओलाङ्चुगोला जोड्न अहिले सुनसरीको
चतराबाट धनकुटा हुँदै पाँचथरसम्म तमोर करिडोर निर्माणाधीन अवस्थामा रहेको छ । यस करिडोरको पूर्णतासँगै
अबका दिनमा तमोर क्षेत्रमा पर्यटकको आवागमन क्रमशः बढ्ने आसा स्थानिय र व्यवसायीहरुले गरेका छन ।
- न्युज बहार संवाददाता