भदौ २३, ढोरपाटन । शिरमा नाङ्गा हरियाली पहाड, तल घना जङ्गल र नजिकै राष्ट्रिय लोकमार्ग । यो सिजनमा बागलुङको रिग ताल क्षेत्र निकै मनमोहक देखिएको छ ।
पछिल्लो समय निसीखोला गाउँपालिका–६ मा रिग क्षेत्र आन्तरिक पर्यटकको आकर्षण गन्तव्य बन्दै गएको छ । रिग क्षेत्र एक दशक अगाडिसम्म गुमानाम रहेको थियो तर अहिले एकाएक चर्चामा आएको छ ।
रिग ताल पनि पातीहाल्नेभन्दा केही माथिल्तिर रहेको छ । पछिल्लो समय तालमा भिडियो खिच्ने, फोटो खिच्ने र त्यस वरपरको दृश्यावलोकन गर्नेको भिड नै लाग्ने गरेको छ । मध्यपहाडी लोकमार्गमै पातीहाल्ने अवस्थित रहेको छ भने यो स्थान बागलुङ, रोल्पा र पूर्वीरुकुम जिल्लाको सङ्गमस्थल पनि हो।
अहिले मध्यपहाडी लोकमार्गले गर्दा पातीहाल्ने चर्चामा आएको छ। पातीहाल्ने पुग्ने पर्यटकहरु रिगतालमा सहजै पुग्ने हुँदा अहिले चहलपहल बढी रहेको छ । यो क्षेत्र केही वर्ष अगाडिसम्म सुनसान थियो भने गोठालेले वर्षात्को समयमा भेडाबाख्रा र बस्तुभाउ चरनका रुपमा प्रयोग गर्थे । हिउँदको समयमा हिउँले ढाकिने यस क्षेत्र सुनासन हुन्थ्यो । यहाँ अहिले बाह्रै महिना जस्तो आन्तरिक पर्यटकको चहलपहल हुने गरेको छ भने वर्षात्को समयमा होस या हिउँदको, दुवै समयमा यहाँ विभिन्न स्थानबाट आन्तरिक पर्यटक घुम्न आउने गरेका छन ।
- न्युज बहार संवाददाता