पुस २४, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले उज्यालो नेपाल पार्टी (उनेपा) सँग भएको सहकार्य अब औपचारिक रूपमा अघि बढ्ने बताएका छन्। बिहीबार पत्रकारहरूसँगको कुराकानीमा उनले उनेपाका नेता कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएपछि सहमति कार्यान्वयन गर्ने बाटो खुलेको स्पष्ट गरे।
रास्वपा र उनेपाबीच पार्टी एकताको
समझदारी भइसकेको छ र त्यसअनुसार समानुपातिकतर्फको संयुक्त सूची निर्वाचन आयोगमा
दर्ता गराइसकिएको छ। तर हालसम्म घिसिङ रास्वपाको आन्तरिक बैठकमा सहभागी भएका छैनन्
भने उनले पार्टी सदस्यका रूपमा शपथ पनि लिएका छैनन्। साथै, उनेपाले केन्द्रीय कमिटीका नामहरू समेत
औपचारिक रूपमा बुझाएको छैन।
राजीनामा दिने क्रममा
घिसिङले सहमति अझै कार्यान्वयनको चरणमा नपुगेको बताएका थिए। यस विषयमा अध्यक्ष
लामिछानेले सहमति कार्यान्वयनका लागि पार्टीभित्र आवश्यक प्रक्रिया पूरा
गर्नुपर्ने उल्लेख गर्दै अब राजीनामापछि त्यसलाई औपचारिक रूप दिने काम सुरु हुने
बताए।
- न्युज बहार संवाददाता