चैत २८, काठमाडौँ। सरकारले सिंहदरबार, बालुवाटार र शीतलनिवासको फोहोर नउठाएको सन्दर्भमा काठमाडौँ महानगरका मेयर बालेन शाहसँग आवश्यक छलफल गर्ने भएको छ । भोली बुधबार बस्ने मन्त्रिपरिषद् बैठकले मेयर बालेन सँग छलफल गर्ने निर्णय गरेको छ।
सरकारको प्रवक्ता समेत रहेकी रेखा शर्माले त्यसबारे मेयर बालेन शाहसँग आवश्यक कुरा गर्ने निर्णय भएको जानकारी गराएकी छन । मन्त्री शर्माले भनिन् ‘फोहोर नउठेको विषय गम्भीर कुरा हो । यो स्थानीय तहको अधिकार क्षेत्रको कुरा भए पनि किन त्यसो गरियो भनेर यसबारे आवश्यक कुरा गर्ने निर्णय भयो, काठमाडौँ उपत्यकाको फोहोर काठमाडौँ महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था हो । यो व्यवस्था परिवर्तन भएको छैन । व्यवस्था परिवर्तन नहुँदै महानगर प्रमुखले त्यस्तो घोषणा किन गर्नुभयो ? यसलाई सरकारले गम्भीर रुपमा लिएको छ।’
यता मेयर बालेन शाहले शनिबार सिंहदरबारको फोहोर नउठाउने भन्दै सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए । सोही अनुसार त्यस दिन देखि शीतलनिवास, सिंहदरबार र बालुवाटारको फोहोर उठेको छैन।
- न्युज बहार संवाददाता