माघ १, काठमाडौँ । प्राविधिक जोखिमको आकलन र समाधान नगरी उचित प्राविधिक अध्ययनबिना राजनैतिक स्टन्टकै लागि मात्र मेलम्चीको पानी काठमाडौँ ल्याउन खोजेको काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले बताएका छन । उनका अनुसार नागरिकका सपनाको दुरुपयोग गरी राजनीतिक लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुनः समय, राज्यको लगानी र उद्घाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै बनेको छ ।
मेयर
बालेनले आज आफ्नो सामाजिक सञ्जालमा लेख्दै व्यक्तिगत कीर्तिमान कायम गर्न
प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौँ झारेर उद्घाटन गर्ने
कुप्रथाको सुरुवात भएको जनाएका छन् ।
उनले आफ्नो
लेखको सुरुवातमा भनेका छन्, ‘एउटै परियोजना बारम्बार उद्घाटनको विश्व कीर्तिमान कायम गरेर हामीसँग
भएको एउटा मन कति पल्ट जित्नु हुन्छ प्रचण्ड सरकार?’
यस्तो छ मेयर बालेनले लेखेको लेख:
हामीसँग भएको एउटा मन कति पल्ट जित्नु हुन्छ
प्रचण्ड सरकार, एउटै परियोजना बारम्बार उद्घाटनको विश्वकिर्तिमान कायम गरेर ।
मेलम्ची खानेपानीका यी ५ वटा उद्घाटनहरु थाहा
पाउनुहोस् :
१. २०७७ फागुन - तत्कालिन प्रम केपी ओली
२. २०७७ चैत्र - तत्कालिन राष्ट्रपति विद्यादेवी
भण्डारी
३. २०७९ वैशाख - तत्कालिन खानेपानीमन्त्री
उमाकान्त चौधरी
४. २०७९ मंसिर - तत्कालिन खानेपानीमन्त्री
उमाकान्त चौधरी
५. आज (२०८० माघ १) - प्रम पुष्पकमल दाहाल
अर्थात्, विभिन्न मितिमा खानेपानीमन्त्रीदेखि
राष्ट्रपति समेतले गरेर मेलम्ची खानेपानीको उदघाटन ५ पटक भइसक्यो । मेलम्चीको पानी
काठमाडौँ ल्याउने भनेर वि. स. २०५५ सालमा मेलम्ची खानेपानी विकास समिति गठन गरियो
। त्यसको दुई बर्ष पछि २०५७ सालमा आयोजनाको विस्तृत ईन्जिनियरिङ अध्ययन प्रतिवेदन
तयार भयो । तर सुरूङ खन्न शुरू गर्न पनि ११ बर्ष लगाएर २०६८ सालबाट मात्रै सुरूङ
खन्न थालियो । त्यो ११ बर्षमा राजा ज्ञानेन्द्रको नेतृत्वसहित १३ पटक त
प्रधानमन्त्रीहरु नै फेरिएका थिए । मेलम्चीमा भएका कर्मचारीको थपघट र नियुक्तीको
सूचि त झन् निकै लामो बन्ला । मेलम्चीका नाममा अरबौँका गाडी किनिएका थिए । एउटा
दुहुनो गाई जस्तो मात्रै भयो मेलम्ची खानेपानी आयोजना । तर काठमाडौँमा पहिलो पटक
पानी झर्न त्यसको ९ बर्षपछि मात्रै सम्भव भयो ।
तत्कालिन प्रधानमन्त्री केपी ओलीले २०७७
फागुनमा मेलम्चीको पानी काठमाडौ झार्ने किर्तिमानका लागि उदघाटन त गरियो तर
किर्तिमानकै लागि प्राविधिक पक्षलाई जोखिममा राखियो । जसको असर सोही बर्षमा नै
देखियो । बाढीको लेदो पसेर तथा बाढीले (1.
Weir 2. Intake 3. Gravel flushing out let 4. Sand flushing system 5. Diversion
tunnel outlet 6. Gates लगायतका)
संरचनाहरु ध्वस्त पारेपछि मेलम्ची बन्द भयो । किर्तिमानको पछि नलागेर प्राविधिक
जोखिम नलिएको भए खोलाबाट ल्याउने पानीमा त्यहाँसँगै आउँने लेदो रोक्ने प्रणाली
विकसित गर्न ध्यान दिइन्थ्यो । त्यो नगरेर मेलम्चीमा राज्यको अर्बौँ लगानीमात्र
जोखिमपुर्ण बनाइएन, काठमाडौँबासीको स्वस्थ पानी पिउन पाउने हकलाई अवमूल्यन गरियो । र, देशव्यापीरूपमा नेपालमा केहि हुन सक्दैन भन्ने नकारात्मक धारणालाई बढावा दिन
मलजल गर्यो । अनि सँगसँगै, व्यक्तिगत किर्तिमान कायम गर्न प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको
पानी काठमाडौँ झारेर उदघाटन गर्ने कुप्रथाको सुरूवात भयो । त्यसकै सिलसिलाको नयाँ
संस्करणको उदघाटन आज प्रम पुष्पकमल दाहालबाट पनि भयो ।
बिडम्बना ! अहिले पनि प्राबिधिक जोखिमलाई
नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर
मुहान कुनै पनि बेला मुहान थुनिन सक्छ । बालुवा भएको सुरूङबाट बालुवा ननिकाली
जोखिम कायमै राखी पानी ल्याइदैछ । बालुवा थेग्रिने संरचनाहरुको अभावमा लेदो सिधै
सुरूङमा पसेर सुरूङ नै भरिन सक्छ, जसलाई निकाल्न बर्षौँ समय र अर्बौको लागत
लाग्न सक्छ । बर्षाको पानीबाट आयोजनालाई जोगाउन उपयुक्त संरचनाहरु निर्माण भइसकेका
नै छैनन् । यसैले बर्षायाम लाग्ने बित्तिकै पानी आपूर्ति बन्द गर्दै मुहान थुन्नु
पर्ने अवस्था छ । हिउँदमै पनि लेदो नथिग्राइ (desilting
नगरि) सिधै diversion canal बाट पानी सुरूङमा लैजादा त्यसमा भएका बालुवा सुरूङमा बिस्तारै थिग्रिएर केहि
समय पछि सुरूङ पुरै बालुवा र लेदोले भरिएर लामो समयको लागि पानी आपूर्ति बन्द हुन
सक्छ । यसका लागि नयाँ intake खोलाको माथितिर राम्ररी study गरेर सार्न आवश्यक छ । त्यस्तै, लेदो थिगार्ने संरचना (Desilting Basin) सुरूङ भित्रै बनाउन उचित हुन्छ ।
प्राविधिक जोखिमको आकलन र समाधान नगरि उचित
प्राविधिक अध्ययनबिना राजनैतिक stunt कै लागि मात्र मेलम्चीको पानी काठमाडौँ
ल्याउन खोज्नु उदघाटन गर्दै झुक्याउने सिलसिलाको पछिल्लो कडी मात्रै हो । राजनीतिक
लाभका लागि भएका अस्थायी परिणाम ल्याउने र पुन: समय, राज्यको लगानी र नागरिकका सपनाको दुरूपयोग
हुनु हो । यसैले छिटोको नाममा नागरिकतहबाट पनि कमसल परिणामका लागि दबाब दिने भन्दा
क्षणिकलाभका लागि प्रशासनिक संयन्त्र र राजनैतिक नेतृत्वको दुरूपयोग रोक्न बन्नु
पर्ने संरचनाहरू बनेका छन् कि छैनन् भन्ने जानेर त्यतातर्फ दबाब बढाउन आवश्यक छ ।
हामी आलोचना मात्र गर्न चाहन्नौँ । यति
चाहन्छौँ, बाह्रै महिना चौबिसै घण्टा पानी आओस् । हरेक पल्ट भन्ने गरेका छौँ, हामी केन्द्र सरकारसँग सहकार्य गर्न चाहन्छौँ । यो मौका दिनु हुनेछ भन्ने आशा
लिएका छौँ । सहकार्यबाट दिगो परिणाम ल्याएर भन्न पाइयोस्
धन्यवाद , हाम्रो मन साच्चै नै जित्नु भयो भनेर ।
- न्युज बहार संवाददाता