भदौ
३०, काठमाडौँ । जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द गरिएको शेयर बजार
आगामी बुधवारदेखि पुनः सञ्चालनमा आउने भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले
बुधवारबाट बजार खोल्ने तयारी भइरहेकाले आवश्यक प्रक्रिया अगाडि बढाइएको जनाएको छ।
तर, नेपाल धितोपत्र बोर्ड
(सेबोन) बाट औपचारिक निर्णय आउन बाँकी रहेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत
चूडामणि चापागाईंले बताएका छन्।
उनका अनुसार, निर्णय हुने बित्तिकै आधिकारिक सूचना
जारी गरिनेछ। यसअघि सेबोनको निर्देशनमा नेप्सेले शेयर कारोबार बन्द गरेको थियो।
सुरुमा भदौ २४ र २५ गते दुई दिनका लागि बजार बन्द गर्ने निर्णय गरिए पनि त्यसपछि
थप एक साता कारोबार स्थगन गरिएको थियो।
नेप्सेले धितोपत्र ऐन, २०६३ को दफा ९० को उपदफा (१) को खण्ड
(घ) अनुसार बजार बन्द गरिएको सूचना जारी गरेको थियो, जसमा
"धितोपत्र बजारसँग परामर्श गरी बढीमा पाँच दिनसम्मका लागि धितोपत्र बजार बन्द
गर्न सकिने" उल्लेख छ।
हाल अवस्था सामान्य
बन्दै गएको, साथै नेपालीहरूको
महत्वपूर्ण चाड दसैँ नजिकिएको अवस्थामा, बजार खोल्ने निर्णय
गर्न लागिएको हो। दसैँ खर्च जुटाउन शेयर बिक्री गर्न चाहने लगानीकर्ताले रकम समयमा
नपाउने स्थिति बनेपछि बोर्डमाथि बजार खोल्न दबाब परेको थियो। यही कारणले बजार पुनः
सञ्चालनमा ल्याउने तयारी गरिएको हो।
- न्युज बहार संवाददाता