असार २९, काठमाडौँ । आज नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१० औँ जन्म जयन्तीका अवसरमा देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ।
आदीकवि भानुभक्तले नेपाली जनतालाई सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर ठुलो योगदान दिएका छन। भानुभक्तद्वारा लेखिएको रामायण अहिले पनि नेपालीको घर–घरमा लयसाथ पाठ गर्ने गरिन्छ।
भनिन्छ नेपाललाई पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेका हुन त्यसैगरी आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत नेपालीलाइ एकीकरण गरेका हुन।
तनहुँको चुँदीरम्घा गाउँमा विसं १८७१ असार २९ गते जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको मानिन्छ।
यसबाहेक उनका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर रचनालगायत कृतिहरु प्रसिद्ध छन्। भानुभक्तको जन्म जयन्ती नेपालमा मात्र नभएर भारतको सिक्किम, दार्जिलिङ, बर्मा, भुटानलगायत नेपाली भाषाभाषी धेरै रहेका प्राय सबै देशमा एवं स्थानमा पनि मनाइने गरिन्छ।
- न्युज बहार संवाददाता