जेठ १७, काठमाडौँ। सेयर बजार परिसुचक नेप्से लगातार आज दोस्रो दिन पनि घटेको छ। आज बुधबार नेप्सेमा ३८.८३ अंकको गिरावट आएको छ ।
बजार २.०६ प्रतिशतले घटेको छ । बजेटले सेयर लगानीकर्ताका लागि कर विवरण पेश गर्नुपर्ने नयाँ प्रावधान ल्याएसँगै लगानीकर्ता बिच्किएको र यसै कारणले बजार घटेको अनुमान गरिएको छ। यद्यपि यो प्रावधानले ९९ प्रतिशत लगानीकर्तालाई असर नगर्ने अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रष्ट पारिसकेका छन् ।
आज बुधबार सबै उपसूचकहरु राताम्य भएका छन । सबैभन्दा धेरै होटल र पर्यटन, उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले गुमाएका छन् भने बुधबार २६२ धितोपत्रको ३६ हजार ८९३ वटा कारोबारबाट ८७ लाख ३६ हजार १२८ कित्ता सेयर किनबेच भएको छ । यस किनबेचबाट २ अर्ब ३१ करोड ५१ लाख ६९ हजार ५७१ रुपैयाँको कारोबार भएको छ ।
- न्युज बहार संवाददाता