फागुन १२, काठमाडौं । घरेलु बक्स अफिसको शीर्षस्थानमा नेपाली फिल्म ‘फूलबारी’ देखिएको छ । रिलिजको दोस्रो शुक्रबार पनि फुलबारी टपमा देखिएको छ । शुक्रबार रिलिज भएका दुई विदेशी फिल्म भन्दा विपिन कार्की स्टारर फिल्म ओपनिङ अकुपेन्सीको आधारमा अगाडि देखिएको हो ।शुक्रबार देशव्यापी ‘फूलबारी’को अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रहेको छ । पहिलो साता उत्कृष्ट कमाइ गरेको फूलबारीले सकारात्मक वर्ड अफ माउथको मद्दतमा दोस्रो शुक्रबार पनि बक्स अफिसमा शीर्ष स्थान बनाएको छ ।
एक बिसुद्ध पारिवारिक फिल्म भएकाले पनि फूलबारीलाई सबै उमेर समूह र वर्गका दर्शकले रुचाइरहेका छन् । फिल्ममा विपिन कार्कीले अवकाशप्राप्त सरकारी शिक्षकको भूमिका निर्वाह गरेका छन् भने अरुणा कार्कीले उनकी धर्मपत्नीको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा प्रियंका कार्की र दयाहाङ राईको पनि मुख्य भूमिका छ । फिल्म एक पटक हेर्न लायक भएको दर्शकहरुले बताएका छन।