फागुन ९, काठमाडौं
। राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशन फागुन १२
देखि १४ गते धादिङमा हुन गईरहेको छ । उक्त महाधिवेशनको सन्दर्भमा राष्ट्रिय लोक
तथा दोहोरीगीत प्रतिष्ठानले हालै चेतावनीपूर्ण वक्तव्य जारी गरेको छ । आगामी तीन
वर्षका लागि महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित गर्ने तयारी रहेको प्रतिष्ठानले
महाधिवेशनलाई प्रभावित पार्ने गरी कुनै प्रतिनिधि, उम्मेदवार वा संस्थाले आर्थिक
लेनदेन गरेमा आचारसंहिताअनुसार कडा कारवाही गर्ने चेतावनीपुर्ण लिखित वक्तव्य जारी गरेको हो । यतीखेर महाधिवेशनका
लागि चुनावी माहोल तातिएको छ, महाधिवेशन बारे विभिन्न माध्यमा धेरै चर्चा परिचर्चा
चलिरहेको छ र यसका लागि केही कलाकारले उम्मेदवारी घोषणा गर्ने तयारी गरिरहेका छन् ।
अहिलेका
चालु महासचिव सुवास केसी र अध्यक्ष रमेश बीजीले वक्तव्य जारी गर्दै सम्भावित
लेनदेन रोक्न सचेत गराएका हुन् ।
विज्ञप्तिमा
भनिएको छ, ‘महाधिवेशनको
नाममा मत प्रभावित हुने आशय राखेर कोही कसैसँग लेनदेन गरेको यो लेनदेन गर्ने
आशयसहितको कुरा गरेको प्रमाण फेला परेमा त्यसरी कुरा गर्ने प्रतिनिधि, उम्मेदवार या संस्था जोकोहीलाई
पनि केन्द्रीय समितिले आफ्नो आचारसंहिताको अधीनमा रही कडाभन्दा कडा कारवाही गर्ने
व्यहोरा जानकारी गराइन्छ ।’
वर्तमान
कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष समेत रहेकी रीता थापा मगर अध्यक्षको उम्मेदवार
बन्ने तयारीमा रहेकी छिन् भने जितेको खण्डमा उनी प्रतिष्ठानको पहिलो महिला अध्यक्ष
समेत बन्नेछिन् । अहिलेका प्रथम उपाध्यक्ष पशुपति शर्मा पनि अध्यक्षका आकांक्षी उम्मेदवार
हुन् । अहिलेका द्वितीय उपाध्यक्ष रामजी खाँण प्रथम उपाध्यक्षका लागि आकांक्षी उम्मेदवार
हुन् । महिला उपाध्यक्षमा राधिका हमालले पुन आफ्नो कार्यकाल दोहोर्याउने मनस्थिति
बनाएकी छिन् ।
यता महासचिवमा
भने शिव हमाल आकांक्षी उम्मेदवार छन् । शंकर बीसी र कुलेन्द्र विश्वकर्माले तृतीय
उपाध्यक्षमा आउने चाहना व्यक्त राखेका छन् । तर कसैले पनि सार्वजनिक रुपमा
उम्मेदवारी घोषणा गरेका भने छैनन् । गायक विष्णु खत्रीले अध्यक्षमा उम्मेदवारी
दिने सम्भावना न्यून रहेको जानकारी आएको छ । उनी केही सातामै नयाँ संस्था खोल्ने
तयारीमा छन् ।