भदौ १०, काठमाडौँ । रसुवा क्षेत्रबाट आएको बाढीको प्रभाव
धादिङको गल्छी क्षेत्रमा समेत देखिएको छ। बाढीका कारण गल्छीमा रहेको एउटा झोलुङ्गे
पुल बगाएको धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय गौतमले जानकारी दिएकी
छन्।
उनका
अनुसार धादिङमा हालसम्म ठूलो मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। यद्यपि
बाढीको बहाव निरन्तर बढिरहेकाले प्रशासनले जोखिमयुक्त क्षेत्रमा निगरानी र सतर्कता
थप बढाएको छ।
खोला
तथा नदी किनारमा रहेका जोखिममा परेका बस्तीका बासिन्दालाई सुरक्षित स्थानतर्फ
सार्ने काम अघि बढाइएको छ। बाढीको जोखिम विशेषगरी मलेखु र गल्छी क्षेत्रका तटीय
बस्तीमा बढी रहेकाले स्थानीयलाई सावधानी अपनाउन र सुरक्षित स्थानमा रहन प्रशासनले
आग्रह गरेको छ।
प्रशासनले
बाढीको अवस्था निरन्तर निगरानी गरिरहेको तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै
आवश्यक उद्धार तथा सुरक्षा तयारीसमेत बढाएको जनाएको छ।
- न्युज बहार संवाददाता