पुस ७, बागलुङ । बागलुङका किसान यस वर्ष खुसी
भएका छन् । गत वर्ष धान उत्पादनमा कमी हुँदा
निराश भएका किसानहरु यस वर्ष रोपाइँका बेला समयमै वर्षा भएपछि धान उत्पादनमा
वृद्धि भएकोले किसान खुसि भएका हुन।
बागलुङमा गत
वर्षभन्दा दुई हजार मेट्रिक टन बढी धान उत्पादन भएको छ । मध्यपहाडी क्षेत्र बागलुङ
भएको हुँदा थोरै क्षेत्रमा मात्र सिँचाइको व्यवस्था रहेको छ । यहाँका किसानले सीमित
सिँचाइको सुविधा हुँदाहुँदै पनि धान उत्पादनमा मेहनत गर्दै आएका छन् ।
गत वर्ष छ
हजार बढी हेक्टर क्षेत्रफलमा रोपाइँ भए पनि १८ हजार छ सय ९० मेट्रिक टन मात्रै धान
उत्पादन भएको थियो । पाँच हजार सात सय १७ हेक्टर क्षेत्रफलमा यस वर्ष रोपाइँ
गरिएकामा २० हजार पाँच सय ५१ मेट्रिक टन उत्पादन भएको छ ।
जिल्लाको सबैभन्दा
कम तमानखोला गाउँपालिका र सबैभन्दा बढी जैमिनी नगरपालिकामा धान उत्पादन हुने गरेको
छ । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश सिलवालका अनुसार यस वर्ष किसानलाई मौसमले
साथ दिएको र उन्नत जातका बीउ प्रयोग गरेका कारण धान उत्पादनमा वृद्धि आएको हो ।
- न्युज बहार संवाददाता