साउन २१,
तनहुँ । तनहुँ स्थानिय स्थरमा उत्पादित कागतीले बजार
नपाउँदा कृषक निराश हुन थालेका छन् । देवघाट गाउँपालिका–२ बिरौटा खाल्टेका मनिष मल्ल ठकुरीले व्यावसायिकरूपमा
कागतीखेती गर्नुभएको छ तर उनको आफ्नो उत्पादन कागतीले बजार नपाएको गुनासो छ ।
विदेशबाट स्वदेश फर्किएर व्यावसायिक कागतीखेती सुरु गरेका उनले कागती बिक्रीका लागि बजार खोज्दै हिँड्नुपर्ने अवस्था आएको बताएका छन ।
उनले भने, “स्वदेशमै केही गरौँ भनेर यो पेसामा लागेको छु, तर उत्पादनको लागी बजार खोज्दै भौँतारिनुपर्ने अवस्था आउँदा समस्या परेको छ ।”
ठकुरीले पाँच वर्ष अगाडिदेखि व्यावसायिक रुपमा कागतीखेती सुरु गर्नुभएका हो । पछिल्ला दुई वर्ष देखी कागती बिक्री गर्न थाल्नुभएको हो । पहिलोपटक गत वर्ष उनले रु ७० हजारको कागती बिक्री भएको बताएका छन । यो वर्ष पनि उनको बारिमा सात सय केजी कागती बिक्रीका लागि तयार भएका छन् ।
गत वर्षको कागती दमौली बजारमै बिक्री भएको थियो तर यो वर्ष उत्पादित कागतीलाई बिक्रीका लागि पोखराको तरकारी बजारमा बुझ्ने काम भइरहेको छ ।
उनले भारतबाट आउने कागतीका कारण स्थानीयस्तरमा उत्पादित कागतीले बजार नपाएको गुनासो गरेका छन ।
उनी कागतीको बजारीकरणका लागि मुख्य समस्या बाटोको रहेको बताउछन् । मान्छेले कागती बगैँचादेखि दुई किलोमिटर दूरीसम्म बोकेर लैजानुपर्ने समस्या छ । उनले भने, “बाटो त छ गाडी जान सक्दैन, जसले गर्दा बोकाएर लैजानुपर्छ।”
- न्युज बहार संवाददाता