असोज ९, बागलुङ । दूध बिक्री गरेर बागलुङ जिल्लाका किसानले हरेक वर्ष करोडौँ रुपैयाँ गाउँ भित्र्याउने गरेका छन् । बागलुङ जिल्ला जैमिनी र बागलुङ नगरपालिकाका तथा काठेखोला गाउँपालिका किसानले दूध बिक्री गरेर करोडौँ रुपैयाँ गाउँ भित्र्याएका हुन् ।
सहकारीमार्फत जैमिनीका किसानले कास्कीको पोखरामा र पर्वतमा दूध निर्यात गर्ने गरेका छन । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका किसानले बजारमा दूध पुर्याउने गरेका छन् । यहाँका किसानले एक वर्षमै यस सङ्घबाट रु सात करोड ३४ हजार गाउँमा भित्र्याउन सफल भएका हुन् ।
यहाँका कृषकले स्थानिय स्थरमा उत्पादित दूध सहकारीमार्फत प्रशोधनसहित बजारीकरण गरी आम्दानी गरेका हुन् । आर्थिक वर्ष २०७९/८० मा काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकाका १४ दुग्ध सहकारीमा आबद्ध किसानले सहकारीमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण गरेर सहरको पैसा गाउँमा पुर्याउन सफल भएका हुन ।
- न्युज बहार संवाददाता