साउन ३०, म्याग्दी। म्याग्दी जिल्लाको बेनी नगरपालिका–९ गलेश्वरमा रहेको गलेश्वरधाम आमा समूहमा आबद्ध महिलाले ‘फेन्सी चप्पल’को व्यावसायिक उत्पादनको थालनि गरेका छन । ‘आमा समूहसँग उपमेयर’ भन्ने बेनी नगरपालिकाको कार्यक्रमअन्तर्गत १५ दिने तालिम लिएका महिलाहरुले चप्पल उत्पादन गर्न थालेका हुन् ।
समूहका उपाध्यक्ष विन्दु कार्की पुर्जाले पहिलो चरणमा नगरपालिकाबाट आधारभूत तालिम लिएका महिलालाई पुनः थप १५ दिने विशेष तालिम दिएपछि महिलाले व्यावसायिक चप्पल उत्पादन सुरु गरेको जानकारी दिइन् । पुर्जाका अनुसार आमा समूहकै भवनमा महिलाले चप्पल उत्पादन गर्न थालेका हुन ।
समूहका सचिव निसा जिसीले आमा समूहले नै व्यावसायिकरूपमा चप्पल उत्पादन सुरु गरेपछि स्थानीय बजारमा स्थानीय उत्पादनकै सामग्रीको उपलब्धता गराउने योजना रहेको बताएकी छिन। उनले फेन्सी चप्पलको माग बढी भएकोले व्यावसायिकरूपमा उत्पादन सुरु गरिएको बताइन । उनले यस व्यवसायबाट महिलाको आयआर्जनमा समेत टेवा पुग्ने लक्ष्य राखिएको बताइन् ।
- न्युज बहार संवाददाता