जेठ ८, काठमाडौँ। गर्मी सुरु भएसँगै मध्यपहाडी लोकमार्ग हुँदै पूर्वी रुकुम जाने बाटोमा भेडाबाख्राको ठूलो बथान देखिन थालेका छन। बाटो भरी अघि–अघि भेडाबाख्रा पछिपछि गोठाला हिँडिरहेका देख्न सकिन्छ।
गत मंसिरमा जाडो र हिमपात छल्न औल झरेका भेडीगोठ यही जेठ पहिलो सातादेखि लेकतिर उक्लिन थालेका हुन। औलमा गर्मी बढेसँगै अहिले भेडीगोठ माथिल्लो क्षेत्रतर्फ सार्न थालिएको छ। ६ महिना सम्म बेसी बस्ता भेडाबाख्राको घाँस र दाना सकिने हुँदा हरेक वर्ष गोठाला लेक–बेसी गरी राख्ने गर्छन।
अहिले लेक चढ्न थालेका भेडा र भेडीगोठालेहरु सबै दसैँमा मात्रै बेसी झर्छन्। बेला–बेलामा चर्ख र अन्य सामानहरु लिन झर्ने गोठालाहरुले चार महिना लेकमै बिताउने गरेका छन। अहिले लेक जाँदा उनीहरुले करिब एक महिनालाई पुग्ने आटो, पिठो र नुन सबै बोकेर जाने गर्छन्।
- न्युज बहार संवाददाता