असार ३१, झापा। यतिबेला तराईका पशुपालक किसान दोहोरो तनावमा रहेका छन्। एक तर्फ 'लम्पीस्किन' ले गोठै रित्याइदिने त्रास चुलिएको छ भने दिनरातको मेहनतले उत्पादन गरेको दूध नबिक्ने तनाव बढेको छ।
हरेक वर्ष ‘उत्पादन तपाईंको बजारको जिम्मा सरकारको’ भन्दै नीति तथा कार्यक्रम अनि बजेट ल्याउने प्रदेश
सरकारको वाचा सम्झिरहेका किसानलाई यतिबेला दूध नबिक्ने समस्याले सताइरहेको छ।
झापास्थित दुग्ध
सहकारीमा आवद्ध झापा गाउँपालिकाका किसान प्रेम गुरागाईंले भने, ‘प्रदेशको कृषि मन्त्रालयले बजारको चिन्ता नलिनू भनेर हामीलाई एउटा कार्यक्रममा आश्वस्त पारेको थियो, अहिले हाम्रो दूध आधा बिक्छ, आधा बिक्दैन। यसले समस्या बनाएको छ।’
अहिले देशैभरका व्यावसायिक
गाईपालनलाई आम्दानीको मुख्य स्रोत बनाएका बहुसंख्यक पशुपालक किसानले भोगिरहेको
साझा समस्या यही हो।
कोशी तराईका
जिल्लाहरुको डेरीमा मागभन्दा धेरै दूध किसानले दिन थालेपछि अघोषित ‘मिल्क होलिडे’ निम्तिएको
अवस्था रहेको छ। यसको प्रत्यक्ष असर पशुपालक किसानको आम्दानीमा पर्न गएको छ।
पिडित किसानहरुका अनुसार उनिहरुले दूधको बजार सधैं राम्रो हुने सम्भावना देखेरै ऋण काढेरै भए पनि गाई र भैंसी थपेर गोठ विस्तार गरेका हुन। अहिले तिनको हेरचाहदेखि स्वास्थ्योपचार र प्रविधियुक्त प्रणालीको प्रयोगले कृषकको लगानी बढेको छ। तर उत्पादन बढेर आम्दानी पनि बढ्ने समयमा, बजारमा दूध बिक्नै सकस हुन थालेको गुनासो किसानले गरेका छन।
- न्युज बहार संवाददाता