साउन १६, गण्डकी । वर्षात्को समयमा पनि
अन्नपूर्ण हिमालको आधार शिविरसम्म पुग्न दैनिक उल्लेख्य पर्यटक आउने क्रम निरन्तर चलिरहेको
छ । दैनिक ५० जनाभन्दा बढी पर्यटक मनसुनको याम भए पनि अन्नपूर्ण आधार शिविर आउने
गरेका छन् ।
यस याममा
छिटोछिटो फुल्ने र ओइलाउने बुकी फूलका साथै विभिन्न प्रजातिका फूल एवं यहाँ
देखिने हरियाली र खोलानालाले यहाँ आउने जोकोहीलाई पनि लोभ्याउने गरेको छ ।
विश्वका
उत्कृष्ट पदमार्गमध्येमा पदयात्रा पर्यटनका क्षेत्रमा अन्नपूर्ण आधार शिविर जाने
पदमार्गले चासो र चर्चा कमाएको छ । मनसुनका समयमा पनि पर्यटक आगमन भइरहँदा यहाँका
पर्यटन व्यवसायी उत्साहित र खुसी छन् ।
अहिले
पदयात्रा क्षेत्रमा बनेका सुविधा सम्पन्न होटेलहरुमा पर्यटकले सजिलै बस्ने लगायतका
सेवा सुविधा प्राप्त गर्न सक्छन । यहाँका व्यवसायीहरुले पर्यटकको आगमनलाई लक्षित
गरी पदमार्ग नियमित रुपमा सरसफाई गर्ने गरेका छन् ।
पर्यटन
प्रबर्दनकोलागि प्रत्येक वर्ष अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म अन्नपूर्ण
सेन्चुरी पर्यटन समितिले अन्तराष्ट्रिय अन्नपूर्ण म्याराथन गर्दै आएको छ ।
- न्युज बहार संवाददाता