असार १५, काठमाडौँ । अब काठमाडौँ सहरका गगनचुम्बी भवनभन्दा माथि ‘स्काइवाक’ गर्दै सहरको तीन सय ६० डिग्रीमा भ्यू हेर्न नेपालमै पाइने भएको छ ।
दुई वर्ष लगाएर काठमाडौँको कमलादीमा निर्माण गरिएको यस स्काइवाक टावरको आज ‘सफ्ट ओपनिङ’ हुँदैछ । आजदेखि सर्वसाधारणले टिकट काटेर यस टावरको अवलोकन गर्न पाउने भएका छन् ।
निर्माता कम्पनी वन्डर नेपाल प्रालिका अध्यक्ष आविष्कार पोख्रेलका अनुसार यस टावरमा यस टावरमा रु दुई अर्ब लगानी भएको छ भने यो कुल ७८ दशमलव पाँच मिटर अग्लो रहेको छ। उनले भने “टावरमाथि सिसामा हिँड्दा आकाशमा हिँडेजस्तो महसुस हुने र यसप्रकारको संरचना नेपालमा पहिलोपटक निर्माण गरिएको हो।”
काठमाडौँको कमलादीस्थित गणेश मन्दिर छेउको यस टावरबाट उपत्यकाको तीन सय ६० डिग्रीमा दृश्यावलोकन गर्न सकिन्छ। टावरबाट उपत्यका सहर हेर्नेमात्रै होइन १८, १९ र २०औँ तलामा निर्मित ‘एम्पिथिएटर’ रेष्टुराँमा खानपिन गरेर समय बिताउन पनि सकिने व्यवस्था गरिएको छ।
टावरको २१औँ तलामा उभिएर छेवैको एक सय वर्षभन्दा बढी पुरानो त्रिचन्द्र क्याम्पस, रानीपोखरी र घन्टाघरको ‘एरियल भ्यू’ हेर्दा निकै रोमाञ्चक देखिन्छ । त्यति मात्र नभएर अलिक पर समानन्तर उभिएको धरहरा, टुँडिखेलका साथै अग्ला भवनहरू पनि देख्न सकिन्छ । टावर धरहराभन्दा करिब १६ मिटर अग्लो छ । टावरको माथीबाट निहाल्दा केही किलोमिटरको दूरीमा रहेको स्वयम्भू स्तुपा नजिकै भएको महसुस हुन्छ यससँगै उपत्यकालाई छेकिरहेका पहाडलाई पनि नजिकैबाट नियाल्न सकिन्छ ।
- न्युज बहार संवाददाता